काठमाडौं– वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर संविधान कुल्चिने कुचेष्टा गरेको बताएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनम्बन्धी मुद्दामा भइरहेको बहसमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षण नगरेको बताए।
प्रधानमन्त्रीले खुरुखुरु संसद् विघटन गर्न नपाउन् र सनकको भरमा संसद् नभत्कियोस् भनेर संविधानमा धारा ७६ (५) राखिएको उनको भनाइ थियो।
सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्। यसअघि रिट निवेदक, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसकेका छन्।
आज सभामुखका कानुन व्यवासायीको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। जवाफी बहसका लागि ३ घण्टा समय तोकिएको छ। विपक्षी गठबन्धनका तर्फबाट तीन घण्टा बहसका लागि चार वरिष्ठ अधिवक्ताहरु उभिने भएका छन्। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठले बहस गर्ने तय भएको छ।
जवाफी बहसपछि सर्वोच्च बार र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन् र त्यसपछि इजलासले फैसला सुनाउनेछ।