सुर्खेत– सरकारी कार्यालय प्रायः बिहान १० नबजेसम्म खुल्दैनन्। तर विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने आज (आइतबार)बाट बिहान ८ बजेदेखि नै कार्यालय खोल्न थालेको छ।
‘निषेधाज्ञा खुकुलो भएपछि सेवाग्राहीको भीड थेगिनसक्नु छैन,’ सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘सेवाग्राहीको भिड बढेपछि आजबाट ८ बजे नै महसुल काउन्टर खुला गरेर महसुल उठाउन थालेका छौँ।’ अर्काे सूचना जारी नभएसम्म हरेक दिन बिहान ८ बजे महसुल काउन्टर खुला रहने छ।
अब वीरेन्द्रनगरका ग्राहकले बिहान ८ बजे नै कार्यालयमा पुगेर महसुल बुझाउन सक्नेछन्। निषेधाज्ञाका कारण अधिकांश ग्राहकले विद्युत् महसुल बुझाउन पाएका थिएनन्। असार मसान्त सकिनै लाग्दा महसुल बुझाउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले बिहान ८ बजेदेखि नै सेवा दिने भएको हो।