काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासशमा बहस भइरहेको छ।
आज आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी मेघराज पोखरेलले बहस थालेका छन्। बहस सुरु गर्दै अधिवक्ता पोखरेलले अधिवक्ता संविधानको धारा ७६ (२) र ७६ (५) मा के फरक छ? ७६ (५) संविधानमा किन थपियो? यसको सही व्याख्या नै अहिलेको मुख्य विषय भएको बताए।
बहसका लागि सभामुखका कानुन व्यवासयीले दुई घण्टा समय पाएका छन्। सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्। यसअघि रिट निवेदक, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसकेका छन्।
आज सभामुखका कानुन व्यवासायीको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। जवाफी बहसका लागि ३ घण्टा समय तोकिएको छ। विपक्षी गठबन्धनका तर्फबाट तीन घण्टा बहसका लागि चार वरिष्ठ अधिवक्ताहरु उभिने भएका छन्। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठले बहस गर्ने तय भएको छ।
जवाफी बहसपछि सर्वोच्च बार र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन् र त्यसपछि इजलासले फैसला सुनाउनेछ।