शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले एकताका लागि माधव नेपाललाई मनाउने प्रयासमा दोस्रो तहका नेताहरू

एमाले एकताका लागि माधव नेपाललाई मनाउने प्रयासमा दोस्रो तहका नेताहरू

नेकपा एमालेको एकताका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई मनाउने प्रयास गरेका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- नेकपा एमालेको एकताका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई मनाउने प्रयास गरेका छन्। 

आज बिहान उनीहरू नेता नेपाललाई मनाउन उनको निवास कोटेश्वर पुगेर छलफल गरेका हुन्। करिब एकघन्टा लामो छलफल भए पनि ठोस निष्कर्ष भने कुनै ननिस्केको एक नेताले जानकारी दिए। 

‘उहाँहरू आएर नेता नेपाललाई मनाउने प्रयास स्वरुप छलफल गर्नुभएको हो,’ नेपाल निकट एक नेताले भने, ‘उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ। जेठ २ को बटमलाइन र अदालतबाट हस्ताक्षर फिर्ता लिने भन्ने कुरो नै छैन।’

नेता नेपाललाई दुवैतर्फका नेताहरूले अनौपचारिक वार्तामा भएको सहमतिको मस्यौदालगायतका बारेमा जानकारी दिएका थिए। तर, नेता नेपालले भने आफ्नो अडान प्रष्ट रहेको र त्यो भन्दा दायाँबायाँ गर्न सक्ने स्थिति नरहेको बताएका थिए। 

ओली पक्षका नेताहरू उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल कोटेश्वर पुगेका थिए। छलफलमा माधव नेपालको तर्फबाट अनौपचारिक वार्तामा सहभागी रहेका नेताहरू पनि सहभागी रहेका थिए। 

नेता जग्गनाथ खतिवडाले अदालतबाट हस्ताक्षर फिर्ता लिने शर्तमा कुनै पनि हालतमा वार्ता र छलफल नहुने नेता नेपालको प्रष्ट अडान रहेको बताए। 

नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको टेलिफोन कुराकानीका क्रममा पनि एकताका लागि सघन वार्ता गर्न भन्दै केन्द्रीय कमिटीको बैठक स्थगित गर्न आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले भने बैठक स्थगित गरेनन्। 

उल्टै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई सोमबार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन जारी गरे। ओलीले शनिबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा माधव नेपाल पक्षप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए। यसले एमाले एकताका लागि भइरहेको प्रयासमा थप जटिलता थपेको छ।

पछिल्लो समय एमाले एकताका लागि भन्दै ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टले बारम्बार वार्ता गर्दै आइरहेका छन्।

प्रकाशित: Jul 04, 2021| 05:34 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।