काठमाडौं- नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको प्रस्ताव ल्याउने बताएका छन्। कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको संख्या थपिँदै गइरहेको समयमा शाहीले रुपन्तरणको प्रस्ताव ल्याउने तयारी गरेका हुन्।
शाहीले भने, 'पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेको हुँ। कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीतिबारे भने बहस शुन्य छ।'
कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको रक्षा हुने उनले बताए। त्यसका लागि महाधिवेशन वैचारिक विमर्श गर्ने उपयुक्त थलो भएको शाहीको धारणा छ।
'व्यक्ति होइन विचार, पद होइन पद्धती, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिक सुरुआत नेपाली कांग्रेसले गर्नुपर्छ', उनले भने।
शाहीले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि केही नयाँ प्रस्तावहरू ल्याउने बताएका छन्। 'कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पुर्याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एक पटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्याउनु नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एक पटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नेलगायतका प्रस्ताव ल्याउने गरि तयारी भइरहेको छ', नेता शाहीले भने। केही दिनमा उनले कांग्रेस रूपान्तरणको उक्त प्रस्ताव वैचारिक विमर्शका लागि पुस्तककै रूपमा ल्याउने तयारी गरेका छन्।
तरूण दलका महासचिव र नेविसंघका पूर्वउपाध्यक्षसमेत रहेका शाही पार्टी आगामी महाधिवेशनमा सहमहामन्त्रीका आकांक्षी छन्। कांग्रेसकातर्फबाट शाहीले कालिकोटबाट दुईपटक सांसदको चुनाव लडिसकेका छन्।