काठमाडौं- मनसुनजन्य विपद्मा परेर पछिल्लो यो वर्ष ५ हजार मानिस विस्थापित भएका छन्। पछिल्लो २० दिनमा ४ सयभन्दा बढी विपद्का घटनामा एक हजार ५७ घरका ५ हजार १०१ मानिस विस्थापित भएको गृह मन्त्रालयले जानकारी दिएको छ। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भए र चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएको प्रहरीको तथ्यांक छ।
मृतक ३८ मध्ये २० पुरुष, ११ महिला, चार बालक र तीन बालिका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोकका पाँच, डोटीका चार, रोल्पा र गोरखाका तीन/तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुराका एक/एक जना रहेका छन्।
प्राप्त विवरणअनुसार बाढीका कारण ७९० घर डुबानमा, ५१९ घर, ९० गोठ, ३९ वटा पुल, ३ विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल ८१८ वटा पशुचौपाया मरेका छन्।
बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङलगायत स्थानमा आज अवरोध भएका सडक पहिरो हटाई सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ। केही सडक खुलेका छन्।
गोरखा र धादिङमा शनिबार मात्रै ४ जनाको मृत्यु
पहिरामा पुरिएर शनिबार गोरखा र धादिङमा गरी चार जनाको मृत्यु भएको छ। गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाइएको छ।
यस्तै धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर एक पुरुषको पनि ज्यान गएको जनाइएको छ।
उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ। अन्य तीन घाइते भएका थिए।