विराटनगर- मोरङको बेलबारीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। शनिबार राति निदाइरहेको समयमा बेलबारी नगरपालिका-७ बाहुनीका ५४ वर्षीय अम्विका घिमिरेले ४८ वर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेका हुन्।
काठको मुङ्ग्रोले देब्रे कञ्चटमा पटक–पटक प्रहार गरेर शनिबार बिहान साढे २ बजेतिर सुतिरहेकी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए।
घटनालगत्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी र ब्ल्याङ्केटमा रगत लागेको तथा ओछ्यानमा घोप्टो परेको अवस्थामा सीताको शव फेला पारेको थियो।
सिरानीमुनि कपालसमेत लागेको मुङ्ग्रो फेला परेको र अम्बिका घरमा नभएको पाइएपछि खनाल नेतृत्वको टोलीले गरेको अनुसन्धानमा हत्याको पुष्टि भएको हो।
घटनाको अनुसन्धान गरिरहेको इन्सपेक्टर खनाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर हत्यापछि फरार बनेका अम्बिकालाई गाउँबाटै पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर शुक्रबारसाँझ घर फर्किएका अम्बिकाको श्रीमतीसँग विवाद भएको पाइएको छ। लामो समय परिवारबाट सम्पर्कविहीन बनेका अम्बिका २ वर्षअघि भारतको आसामबाट आएका थिए। दैनिक मदिरा सेवन गरेर घरमा श्रीमतीसँग झैझगडा गर्ने गरेको पाइएको बेलबारी ७ का वडाध्यक्ष चेतराज बस्नेतले बताए।