शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. जागेश्वरद्वारा 'सेटिङ'मा आफ्नै पार्टनरलाई १३ करोडको ठेक्का, वीरमा चिन्तै-चिन्ता  

डा. जागेश्वरद्वारा 'सेटिङ'मा आफ्नै पार्टनरलाई १३ करोडको ठेक्का, वीरमा चिन्तै-चिन्ता  

नेपाल समयलाई प्राप्त कागजातहरूको अध्ययनबाट ठेक्का प्रक्रियामा नियोजित चलखेल भएको र यस कार्यमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको संलग्नता देखिएको छ। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- कोभिड–१९ उपचारका लागि युनिफाइड केन्द्रीय अस्पतालका रूपमा तोकिएको वीर अस्पतालमा भेन्टिलेटर खरिद गर्ने ठेक्का म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सले पाएसँगै खरिद प्रक्रियामा ‘सेटिङ’ भएका तथ्यहरू फेला परेका छन्। 

नेपाल समयलाई प्राप्त कागजातहरूको अध्ययनबाट ठेक्का प्रक्रियामा नियोजित चलखेल भएको र यस कार्यमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको संलग्नता देखिएको छ। 

‘ठेक्का पाएको कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सको पार्टनरमध्ये एक हुन् डा. गौतम। तर, बाहिर देखाउँदा युवा संघका नेता सुन्दर भुसाललाई देखाइएको छ,' डा. गौतम निकट एक व्यवसायीले भने, ‘यो गोलचक्कर बुझ्ने हो भने सुन्दर र जागेश्वरजीका साझेदारी व्यवसाय पहिल्याइयो भने स्पष्ट हुन्छ।’ नेपाल समयलाई प्राप्त सेयर कारोबारको एउटा कागजात अनुसार डा. जागेश्वर र सुन्दर भुसाल क्यान्भास एजुकेसन फाउन्डेसन प्रालिका साझेदार रहेको स्पष्ट हुन्छ।

अब वीर अस्पतालको ठेक्का प्रकरणकै कुरा गरौं। 

डा गौतमले मापदण्डसमेत नपुगेको म्याक्सिमलाई एकै दिन १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का स्वीकृत गरेका छन्। शनिबार एक दैनिक पत्रिकामा प्रकाशित ठेक्का स्वीकृत भएको सूचनामा ‘प्रमुख प्रशासकीय अधिकारी स्तरीय’ निर्णय गरेर उक्त कम्पनीलाई ठेक्का दिइएको उल्लेख छ।

म्याक्सिमलाई ठेक्का दिइएको सूचना। 

यही असार ११ गते वीर अस्पतालले १५ करोडबराबरका भेन्टिलेटर, एक्सरे मेसिन, युएसजी मेसिनलगायत उपकरण किन्न टेन्डर आह्वान गरेको थियो। सोही टेन्डर म्याक्सिमले पाएको हो।  

भेन्टिलेटर खरिदको जिम्मा पाएको कम्पनी यसअघि नै विवादमा आएको कम्पनी हो। वीर अस्पतालकै सामान खरिदमा मुछिएको उक्त कम्पनीमा उच्चस्तरीय एमाले नेताहरुको समेत अप्रत्यक्ष लगानी रहेको बताइन्छ। कम्पनीका देखिने मालिक भने पर्वत जिल्लाका एमालेका युवा नेता सुन्दर भुसाल हुन्। एमाले निकट युवा संघमा सक्रिय भुसाल विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष्य समेत हुन्। जागेश्वर गौतमको उनीसँग क्यान्भास एजुकेशन बाहेक अन्य कम्पनीमा पनि साझेदारी रहेको जानकार स्रोत बताउँछ। आफ्नै साझेदारलाई ठेक्का दिएर गौतमले भ्रष्टाचार गरेको तथ्य कागजातहरुले पुष्टि गरेका छन्।

भेन्टिलेटर खरिद त अनियमितताको सुरुवात मात्र हो। वीरमा करिब ५ अर्ब रुपैयाँको उपकरण खरिद गर्नुपर्ने भएपछि त्यसको जिम्मेवारी आफू संलग्न कम्पनीलाई दिन गौतम लागिपरेको अस्पताल स्रोत बताउँछ।

म्याक्सिम कम्पनीलाई दिन लागिएको एउटा ठेक्का यसअघि तीव्र विरोध र सञ्चारमाध्यममा समाचार आएपछि रद्द भएको थियो। त्यतिखेर वीर अस्पताल युनिफाइड कोभिड अस्पताल बनेकै थिएन। सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरेर वीरलाई युनिफाइड कोभिड अस्पतालमा रुपान्ततरण गर्दै डा. जागेश्वर गौतमलाई त्यसको प्रमुख प्रशासकीय अधिकृत बनाएपछि अनियमितताको शृंखला सुरु भएको हो।  

भेन्टिलेटर खरिद त अनियमितताको सुरुवात मात्र हो। वीरमा करिब ५ अर्ब रुपैयाँको उपकरण खरिद गर्नुपर्ने भएपछि त्यसको जिम्मेवारी आफू संलग्न कम्पनीलाई दिन गौतम लागिपरेको अस्पताल स्रोत बताउँछ। म्याक्सिमलाई ठेक्का दिलाउन गौतमले सोही कम्पनीमा कार्यरत बायोमेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ति दिए। त्यसपछि भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरी स्पेसिफिकेसन गरेको स्रोत बताउँछ। त्यसपछि गौतमले खरिद एकाइ प्रमुख भगवती थपलिया र श्याम विकलाई आफ्नो हातमा लिए। 

भेन्टिलेटर खरिद गर्ने कम्पनीसँग तीन वर्षको अनुभव हुनुपर्ने बोलपत्रमा उल्लेख छ। तर म्याक्सिमसँग दुई वर्षको मात्रै अनुभव छ। अनुभव नै नभएको कम्पनीलाई ठेक्का दिएर गौतमले भ्रष्टाचार गरेको वीरका कर्मचारीहरु बताउँछन्। ‘यो टेन्डर प्रक्रिया सुरु भएपछि हामीले प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी दिएका छौं। तर सेटिङ यतिसम्म छ कि अध्यादेशका भरमा गरिएको यो टेन्डरका जरा ती निकायसम्म पनि फैलिएका छन्,' अस्पतालका एक उच्च कर्मचारीले भने, ‘टेन्डरकै लागि भनेर डा गौतमले बायोमेडिकल इन्जिनियर बराललाई यहाँ ल्याएको स्पष्ट छ।’

डा जागेश्वरविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा दर्ता भएको उजुरी।

डा. गौतमले वीरमा नियुक्त गरेकी बायोमेडिकल इन्जिनियर बराल शिक्षण अस्पतालमा विवादास्पद गतिविधि गरेपछि निकालिएकी हुन्। बराललाई वीरमा नियुक्त गर्न स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिफारिस गरेको बताइएको छ। बरालसँग डा. गौतमको पनि नजिकको सम्बन्ध रहेको वीरका कर्मचारी बताउँछन्।

बरालले म्याक्सिमको कार्यालयमै गएर उसले टेन्डर पाउने गरी काम गरेको आरोप छ। म्याक्सिमका मालिक सुन्दर भुसाल अध्यक्ष रहेको क्यानभास कलेजमा डा. गौतमको पनि सेयर रहेको देखिएको छ ( हेर्नुहोस् शेयर किनबेचको निवेदन)।

शेयर किनबेचको निवेदन।

अन्य कम्पनीहरुमा पनि गौतम र भुसाल साझेदार छन्। 

वीर अस्पतालको पछिल्लो ठेक्का प्रकरण विवादित भएपछि हामीले ठेक्का पार्ने कम्पनीका अध्यक्ष भुसाललाई सम्पर्क गरेका थियौं। उनले आफूले प्रक्रिया बमोजिम ठेक्का हात पारेको दावी गरे। यतिसम्म कि उनले डा जागेश्वर गौतमलाई आफूले नचिनेको समेत बताए। भने, ‘उहाँ हाम्रो पार्टनर होइन। म चिन्न पनि चिन्दिनँ उहाँलाई। हामी विश्वकै राम्रो कम्पनी हौं, प्रक्रिया फलो गरेर टेन्डर पारेका हौं।’ भुसालले डा. गौतमलाई नचिन्ने बताए पनि प्राप्त प्रमाण र उनीहरु निकटस्थहरुको कुरा भने अलग छ। 

को हुन् जागेश्वर गौतम?
विगतदेखि नै विवादास्पद डा. गौतम शक्तिकेन्द्र रिझाउन माहिर मानिन्छन्। त्यसैले त उनी जहिले पनि आफूले चाहेको ठाउँमा नियुक्ति पाउँछन्। प्रसूति गृहमा निर्देशक रहेका गौतमलाई सरकारले कोरोना महामारी सुरु हुनेबित्तिकै स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। सुरुमा उनले त्यहाँको प्रवक्ताको रुपमा दैनिक कोरोना अपडेट गरे। त्यसपछि विस्तारै पीसीआर मेसिनलगायत उपकरण खरिदमा हस्तक्षेप गर्न थालेका थिए। झन्डै दुई वर्षपछि सरकारले अध्यादेश नै जारी गरेर वीर अस्पताललाई युनिफाइड कोभिड अस्पताल बनायो र गौतम शक्तिशाली प्रशासकीय अधिकृत भएर त्यहाँ गए।   

भेन्टिलेटर खरिद गर्ने कम्पनीसँग तीन वर्षको अनुभव हुनुपर्ने बोलपत्रमा उल्लेख छ। तर म्याक्सिमसँग दुई वर्षको मात्रै अनुभव छ। अनुभव नै नभएको कम्पनीलाई ठेक्का दिएर गौतमले भ्रष्टाचार गरेको वीरका कर्मचारीहरु बताउँछन्।

चितवन मेडिकल कलेजका अध्यक्षको कीर्ते हस्ताक्षरको आरोपमा पनि उनी विवादित भइसकेका छन्। उनलाई कुनैबेला स्वास्थ्य मन्त्रालयले दुई तह घटुवा गरेर कारबाही गरेको थियो।

तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर पोखरेलको योजनामा वीर अस्पतालमा नियुक्त भएर आएका गौतमले अस्पतालको ५ अर्बको ठेक्का सेटिङ मिलाएर आफ्नो पक्षमा पार्न अनेक हरकत गरिरहेको कर्मचारीहरु बताउँछन्। त्यसैको पहिलो टेन्डर हो भेन्टिलेटर खरिद, जुन उनले आफैं अप्रत्यक्ष साझेदार रहेको कम्पनी म्याक्सिमलाई दिन सफल भएका छन्।

सरकारका उच्च तहका अधिकारी भए पनि गौतमको लगानी थुप्रै निजी कम्पनी तथा अस्पतालहरुमा रहेको पाइएको छ। चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा १७ हजार ६४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३ हजार ४०० कित्ता, अमेजन इन्भेस्टमेन्टमा ८५ हजार कित्ता, ग्यालेक्सी इन्भेस्टमेन्टमा ९९ हजार  कित्ता, क्यानभास एजुकेसन फाउन्डसनमा ३० हजार कित्ता र नारायणी आक्सिजन कम्पनीमा १२ हजार कित्ता सेयर गौतमको रहेको पुष्टि भएको छ।

प्रकाशित: Jul 03, 2021| 09:47 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।