काठमाडौं- झापास्थित बीएडसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा श्रीकृष्ण गिरीले कमिसनखोर र दलालसँग साँठगाँठ गरी नेपालको मेडिकल शिक्षा ध्वस्त पारिरहेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सञ्चालक प्रसाईंले यस्तो आरोप लगाएका हुन्।
'चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विद्यार्थीहरू बाहिर पठाउने कमिसनखोर दलालहरूसँगको साँठगाँठ तथा मिलेमतोमा नेपालको मेडिकल शिक्षा तथा विश्वविद्यालय ध्वस्त र तहसनहस पारिरहनु भएको छ,' प्रधानमन्त्री ओलीलाई प्रसाईंले लेखेको पत्रमा उल्लेख छ।
उनले कमिसनको खेलमा परेर हालै एक सय सैँतीस वटा नर्सिङ कलेजलाई डा गिरीले बन्द हुने अवस्थामा पुर्याएको आरोपसमेत लगाएका छन्।
प्रसाईको पत्रमा बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठोस निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रसाईले उक्त पत्र सार्वजनिक गरेका हुन्।





