रियाद- साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै यस्तो जानकारी आएको बताइएको छ।
'साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र अनुमति दिइने छ। नयाँ प्रतिबन्धहरू आइतबार रातिदेखि लागू हुनेछन्,' साउदी अरेबियाका अधिकारीले एसपीएसँग भनेका छन्।
विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो। त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन्।
हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका जोन्स होप्किन्स विश्वविद्यालय जनाएको छ। यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड सङ्क्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड सङ्क्रमणपछि मृत्यु भएको छ।
उता यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो। यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ।
युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन्।