काठमाडौं- देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकालै दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ। आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ।
आज काठमाडौंको अधिकतम २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस छ। काठमाडौं उपत्यकामा गएरातिदेखिनै निरन्तर वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा ४६ मिलिमिटर वर्षा भएको छ। शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो। सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ।