चितवन- निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो।
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुई घण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए।
त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो। नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरूमा पहिलोपटक पहिरो खसेको उनले बताए। सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ।
पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो। सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा बेकर र दुईवटा जेसीबी परिचालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदास थापा सो सडक बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउँछन्। मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ।
सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए। सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिँड्ने प्रभावित भएका छन्। ठूलो संख्यामा सवारीसाधनमा आएका यात्रुहरू सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए।
शुक्रबार विवाहका लागि हिँडेका बेहुलाहरूको बिचल्ली परेको सामूहिक तस्विरहरू सार्वजनिक भएका थिए। यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए। रासस