काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले यसपाली क्रियाशील सदस्यताको विवाद समाधान हुन नसके अर्को महाधिवेशनका लागि थाती राख्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
'क्रियाशील सदस्यताको विवाद सहमतिमा समधान गर्ने निष्कर्षमा पुगिएको छ। यसपाली विवाद नमिले १५औँ महाधिवेशनका लागि थाती राख्ने निर्णय भएको छ,' बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल समयसँग भने।
बैठकले सहमतिका आधारमा पारित हुनेजति सदस्यता टुंग्याउन छानबिन समितिलाई निर्देशनसमेत दिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेसम्म क्रियाशील सदस्यताको विवाद टुंग्याएर छानबिन समितिले केन्द्रीय समितिलाई बुझाइसक्नुपर्ने छ।
डा महतका अनुसार क्रियाशील विवाद ३ सयभन्दा बढी वडामा समस्या देखिएकाे छ। ३० जिल्लामा विवाद समाधान भइसकेको उनले बताए।
शुक्रबारकाे बैठकपछि छलफलपछि परिस्थिति सहज बनेको उनले उल्लेख गरे। अरु पार्टीबाट आएकाहरुमाथिको गुनासो सम्बोधन गर्ने र दुवै पक्षको सहमतिका आधारमा निर्णय हुने उनको बताए।
कांग्रेस केन्द्रीय कार्यालयमा हालसम्म ८ लाखभन्दा बढी नयाँ र नवीकरण भएका क्रियाशीलको सदस्यको सूची आइपुगेको छ।