सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेशसभा गर्दै आएको अवरोधलाई आज (शुक्रबार) पनि जारी राखेको छ। सधैँझै शुक्रबार पनि एमालेका सांसदको अवरोधका कारण बैठक स्थगित भएको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीन जना सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सरकारबाट नबाहिरिएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शाही र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दिसिंह बुढा सरकारबाट नबाहिरिएसम्म संसद चल्न नदिने एमालेको अडान छ। वैशाख ३ गते थापा, शाही र बुढासहित प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।
फ्लोरक्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उनीहरुलाई एमालेले सांसद पद र साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। तर जेठ २६ गते सर्वाेच्च अदालतले चार जनाको सांसद पद पुनर्स्थापित गरिदिएको थियो।
त्यसयता एमालेले फ्लोरक्रस गरेर मन्त्री बनेका तीन जना सांसदहरु सरकारबाट बाहिरिनु पर्ने माग राख्दै आएको छ। तर मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने अडानमा छन्। एमालेको यही आन्तरिक विवादका कारण असारदेखि अवरुद्ध छ।
एमालेको निरन्तर अवरोधका कारण सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन। संसदमा बजेट प्रस्तुत भएको १८ दिन वितिसकेको छ। एमालेले असार ४ गते, ६ गते, ८ गते, १० गते, १३ गते र आज (१८ गते) संसद बैठक अवरुद्ध गरेको छ।
आजको बैठमा सांसद देवी ओली र दानसिंह परियारले संसदले संविधान र सर्वाेच्च अदालतको कार्यान्वयन नगरेको भन्दै बैठक सञ्चालन हुन नसक्ने बताए। बैठक असार २४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।