पर्सा- निरन्तरको वर्षासँगै आएको बाढीले पर्साको वीरगंजलगायतका क्षेत्र डुबानमा परेका छन्। जिल्लामा विपद् व्यवस्थापनको नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालयसमेत डुबानमा परेको छ।
बाढीले वीरगंज महानगरपालिकाको मुख्य चोक आदर्शनगर, रानीघाट, राधेमाई, छपकैया, नगवालगायतका क्षेत्र डुबानमा परेका छन्।
जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेपछि प्रहरी चौकीलाई हरिहर निमावि खेस्राहामा सारिएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए।
यस्तै पोखरीया नगरपालिका वडा नम्बर ४ मा प्रभु साह कानुको घर बाढीले भत्किँदा ६ जना सदस्य रहेको परिवार विस्थापित भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ पशुपति टोलका भुलन राम, गोबर्धन राम, पौडारो देवी र संजय राम गरी ४ जनाका फुसको छाना भएको कच्ची घर भत्किएका छन्।
यसैगरी ठोरी गाउँपालिका वडा नम्बर ४ गोपी बस्तीको पिच सडक ओरीया खोलाले कटान गर्दा सडक जोखिम परेको प्रहरी चौकी विजयवस्तीले जनाएको छ।
वीरगंज महानगरपालिकाको वडा नम्बर २५ असर्फी साह कानुको घर पनि बाढीले भत्काएको छ।
अविरल वर्षले जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ दसौतास्थित सहुरुन गद्दीको १० कठ्ठा क्षेत्रफलमा रहेको पोखरीको डिल भत्केर १२ लाख रुपैयाँ बराबरको माछा बगाएर लगेको छ।

बाढीले अधिकांश क्षेत्र डुबानमा परेपछि पर्साका ग्रामिण क्षेत्रमा जानआउन भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ। २०२१ सालमा भारतले सीमा नजिकै बनाएको घोडासाहन नहरले सिमावर्ती क्षेत्रहरु डुबान पर्ने गरेको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ का जयमंगलापुरलगायतका बासिन्दा यस वर्ष पनि डुबानको मारमा परेका छन्।
बाँधकै कारण पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका र पाकहामैनपुर गाउँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडीहर्वा, चरगाह, पूर्वारी, टिहुकी, जयमंगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वा लगायत १६ भन्दा बढी गाउँ बर्षेनी डुबानमा पर्ने गरेका छन्।
