काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई आगामी कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।
बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो।
अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ। लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्मण गर्न मञ्जुर हुनुपर्नेछ। त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नु पर्नेछ।
त्यसपछि प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार संझौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ। त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरु निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ।
यस्ता घरहरुका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ। अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कार्वाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ।
त्यस्तै, कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरेको छ। यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ।
बिहीबारसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निर्क्योल भएका छन्, जसमध्ये ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन्।