काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १३औं केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
'पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने निर्णय गरेको छ,' उनले भने।
पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्षसमेत रहेका खनाल एमालेको माधवकुमार नेपाल पक्षका नेता हुन्। एमालेमा विवाद भएपछि उनी नेपालसँग सहकार्य गर्दै आएका छन्। नेता खनालको भारतमा उपचार भइरहेको छ। उनको मिर्गौलामा समस्या भएको बताइएको छ।
शुक्रबारको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। कोभिडबाट मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुको स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनःस्थापनामा जोड दिने प्रस्ताव पारित भएको हो।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनतालाई बधाई ज्ञापन गरेको छ। बैठक शनिबार पनि बस्नेछ।