काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक शनिबार पनि बस्ने भएको छ। एमाले ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बालुवाटारमा शनिबार दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका हुन्।
शुक्रबारको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले शनिबारको बैठकमा सहभागी हुन असन्तुष्ट पक्षका नेताहरुलाई पनि आग्रह गरेका थिए।
शुक्रबारको ओली पक्षको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव कुमार नेपाल पक्षलाई तीन दिने अल्टिमेटम दिएको छ।
'बैठकले अनाधिकृत हस्ताक्षर फिर्ता लिदैं एकताका लागि आह्वान पनि गरेको छ,' उनले भने, ‘यो पार्टी एकतामा यो मुलुकको लोकतन्त्र र कम्युनिस्ट आन्दोलन पनि जोडिएको हुनाले सुदृढ गर्न सबै नेता कार्यकर्तालाई आह्वान गरेका छौं।'
पार्टीभित्र देखा परेका केही समस्याका कारण देशभर नेता कार्यकर्तामा निराशा छाएको तर विपक्षीमा उत्साह आएको उनको भनाइ थियो। उनले नाम नलिइकनै यसको कारक नेपाल पक्ष भएको आरोप लगाएका थिए।