काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव कुमार नेपाल पक्षलाई तीन दिने अल्टिमेटम दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १३औं केन्द्रीय कमिटीको बैठकले यस्तो अल्टिमेटम दिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
'बैठकले अनाधिकृत हस्ताक्षर फिर्ता लिदैं एकताका लागि आह्वान पनि गरेको छ,' उनलले भने, ‘यो पार्टी एकतामा यो मुलुकको लोकतन्त्र र कम्युनिस्ट आन्दोलन पनि जोडिएको हुनाले सुदृढ गर्न सबै नेता कार्यकर्तालाई आह्वान गरेका छौं।'
पार्टीभित्र देखा परेका केही समस्याका कारण देशभर नेता कार्यकर्तामा निराशा छाएको तर विपक्षीमा उत्साह आएको उनको भनाइ थियो। उनले नाम नलिइकनै यसको कारक नेपाल पक्ष भएको आरोप लगाएका थिए।
बैठकले ६ बुँदे प्रस्ताव पनि पारित गरेको छ। कोभिडबाट मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुको स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुने प्रतिश्रद्धासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनःस्थापनामा जोड दिने प्रस्ताव पारित भएको थियो।
यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने र पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने प्रस्ताव समेत गरिएको ओलीपक्षीय एमालेले जानकारी दिएको छ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनतालाई बधाई ज्ञापन गरेको छ।