काठमाडौं– रत्नपार्कका भित्तामा नेविसंघले लखेको नारा काठमाडौँ महानगरपालिकाले मेटेको छ। रत्नपार्कस्थित आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद, विद्यासुन्दर शाक्य मुर्दावाद लेखेको थियो।
‘२०५८ सालदेखि हामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र भित्ते लेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘त्यही बेलादेखि काठमाडौं महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौं। त्यहीअनुसार नै ती अभद्र नारा मेटाएका हौं।’
कोभिड–१९ महामारीको समयमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा कलाकारले बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा महानगर र मेयरविरुद्ध नारा लेखेर विरोध जनाएको थियो।
‘वि विल राइज अगेन’ लेखिएको ब्यानरसँगै भित्ताको चित्रमा राष्ट्रिय झण्डा बोकेका तथा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार र पिपिई लगाएका शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो। र, चित्रको दुवै किनारमा ‘टुगेदर वि क्यान र के टाउन’ लेखिएको थियो।