काठमाडौं– मनसुन सक्रिय बनेसँगै पहिरोका कारण सधैं चर्चामा रहने सडक खण्ड हो मुग्लिन–नारायणगढ। ठाउँठाउँमा जाने पहिरोले वर्षातको समयमा यो सडकको यात्रा निकै कष्टकर हुनेगर्छ।
माथिबाट खस्ने पहिरोले कतिखेर गुड्दै गरेका सवारीसाधन पुर्छ भन्ने त्रासैत्रासबीच यात्रुहरू यात्रा गर्न विवश छन्। ३४ किलोमिटरको सडक पार गर्न कहिलेकाहिँ त ३४ घन्टा नै लाग्छ।
चट्टानी पहाडको बीचमा रहेको सडकमुनि त्रिशुली नदी बग्छ। माथिको चट्टानी भीर र बाटोमुनिको खोच भएर बग्ने त्रिशूली नदी दुवै यात्रुका लागि डरलाग्दा छन्।
कतिपय अवस्थामा त माथिबाट आउने पहिरोले सडकलाई त्रिशूलीमै मिलाइदिन्छ। तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाले सधै थिलथिलो नारायणगढ मुग्लिनको जमिन यो पाली पनि थिल्थिलो बनेको छ। जसले गर्दा सो बाटो भएर यात्रा गर्ने यात्रुहरू सास्ती खेप्न विवश बनेका छन्।
बिहीबारको रात झमझम पानी परिरहेको थियो। लामो निषेध आदेशपछि जोरबिजोरमा सवारीसाधन चल्न थालेको दुई दिन मात्रै भएको थियो।
मुग्लिन–नारायणगढ भएर गन्तव्यमा जाने सवारीसाधनको लाइन लामै थियो। ठाउँठाउँमा पहिरोले सास्ती दिइरहेको थियो। राति कुद्दै गरेको गाडीमा पहिरो खस्यो। गाडी आधा पुरियो। धन्न! भाग्यले मानिस जोगिए।
बिहीबार राति नै सोही सडक खण्डको १४ किलोमा भीमकाय पत्थर आएर सडकमा अड्कियो, जसले दुईतर्फी नै बाटो नै अवरुद्ध गरिदियो। अर्को ठाउँमा पहिरो गएर पूरै सडक छोपिदियो। अर्को ठाउँमा पहिरो गएर सडकको आधा भाग लगिदियो। छियाछिया छ नारायणगढ मुग्लिन सडक खण्ड। कष्टकर यात्रा गर्न बाध्य छन् यात्रु।
चितवनका पत्रकार वसन्त ढुंगाना नारायणगढ मुग्लिन सडकखण्ड बर्खाको समयमा दैनिक रुपमा अवरुद्ध हुने बताउँछन्। सडक अवरुद्ध भएकाले सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चार ठाउँमा खसेको पहिरोका कारण दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। १४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा अझै पन्छाउन सकिएको छैन। पन्छाउने काम जारी रहेकाले सडक सञ्चालन गर्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ।
इच्छाकामना गाउँपालिका ६ चारकिलो भन्ने स्थानमा पनि ठूलो पहिरो छ। त्यो हटाउन तीन–चार घण्टा समय लाग्ने प्रहरीको भनाइ छ। जलविरेको पहिरो हटाएर हाल एकतर्फी सवारीसाधन सञ्चालन भएको प्रहरीले जनाएको छ।
मुग्लिन– नारायणगढ सडकको यो पीडा यस वर्षको मात्रै होइन, प्रत्येक वर्ष दोहोरिन्छ। तर, सरोकारवाला निकाय परेको बेला मात्रै तात्छन्। हिउँदको समयमा सरकारले पहिरो नियन्त्रणका लागि काम गर्नुपर्ने स्थानीयको माग छ।

