काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका मुख्य नेताहरुलाई बाहिर राखेर एकता हुन नसक्ने भन्दै माधव नेपाल लगायतका नेताहरुसहितको एकता हुनुपर्ने बताएका छन्।
बालुवाटारमा जारी केन्द्रीय कमिटीको १३ औं बैठकमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्। ‘एकतालाई सार्थक बनाउन तपाईंले नै प्रयास गर्नुपर्छ,’अध्यक्ष केपी ओलीलाई संकेत गर्दै उनले भने,‘हतार नगरेर पार्टी एकता गरेर अघि बढ्नुपर्छ।’
उनले आफू गुण र दोषका आधारमा मात्रै सहयोग र विरोध गर्दै आएको भन्दै एमालेलाई एकताबद्ध बनाएरै लैजानुपर्ने बताए। नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गलत भएको भन्दै उनले आफू भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने बताए।
बैठकमा वामदेव सहभागी भएकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गर्दै आउने–जाने नगरी आएको आयै गर्न आग्रह गरेका थिए।