काठमाडौं– संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले आइतबार बहस गर्ने भएका छन्। प्रतिनिधिसभा विघटन विरुद्ध परेकाे मुद्दामा सभामुखका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि २ घण्टा दिइएको छ। यसअघि साढे एक घण्टा मात्रै समय निर्धारण गर्ने भनिए पनि इजलासमा शुक्रबार समय अपुग हुने भनेपछि आधा घण्टा थपिएको हो।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्तात्रय श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपानेले बहस गर्नेछन्। त्यस्तै अधिवक्ताद्वय मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्। रिट निवेदक तर्फबाट ३६ जनाले बहस गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट ११ जना सरकारी वकिल र २१ जना निजी वकिल गरी ३२ जनाले बहस गरेका छन्।
सभामुखका तर्फबाट बहस सकिएपछि एमिकस क्युरिकातर्फबाट ४ जनाले बहस गर्नेछन्। त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। एमीकस क्युरीलाई दुई घण्टा र रिट निवेदकलाई जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ।