काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउनका लागि अधिकतम लचिलो हुन तयार रहेको बताएका छन्। बालुवाटारमा जारी पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं। तर याद होस् हाम्रो आन्दोलन धेरै मजबुत छ। बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ,’ उनले भने,‘कमरेड वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनु भएको छ। उहाँलाइ स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमा राष्ट्रपति संस्था, संवैधानिक संस्था, विधि, पद्धतिमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताए। ‘पार्टीको नेता हो भन्ने अनि अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अर्को पार्टीको हित हुने कार्य सह्य हुँदैन,’ नेता माधव नेपालप्रति लक्षित गर्दै उनले भने।
ओलीले सम्बोधनका क्रममा उपाध्यक्ष वामदेव गौतमलाई आउने–जाने क्रम जारी नगरी आएको आयै गर्न अनुरोध गरे। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भोलिबाट कोरोनाको खोप आउने क्रम सुरु हुने पनि बताएका थिए।