काठमाडौं– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका छन्।
तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २–२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना छन्।
बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन्। तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका छन्। उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३–३ जना, जुम्ला र गोरखामा २–२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १–१ जना छन्।
प्रहरीका अनुसार बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन्। तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना छन्। वेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ। साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी पूर्व, चितवन र बाजुरा लगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ।
बाढीको कारण ३ सय ९७ वटा घर डुबानमा परेका छन्। ४ सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा ३ सय ३० वटा विपद्का घटना भएका छन्।