काठमाडौं-नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले तत्काल अधिवेशनको हुने वातावरण व्यवस्था गर्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलामा पुगेका नेपाल विद्यार्थी संघका नेताहरुले जिल्ला सभापतिहरुलाई बोदार्थ पत्र दिँदै संगठनको सुदृढिकरणमा ध्यान दिन माग गरेका हुन् ।
संघका उपाध्यष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, कुन्दनराज काफ्ले, नविन राई, प्रकाश रानाले संयुक्त रुपमा हस्ताक्षर गरी बुझाएको ध्यानाकर्षण पत्रमा संघका अध्यक्ष नैनसिंह महर अधिवेशन नगराई मनोमानी ढंगले विधि, परम्परा र विधान विपरित संगठन कब्जा गर्ने कार्यमा उन्मुख भएको आरोप लगाएका छन् ।
सभापतिहरुलाई संघभित्रको वेथिति अन्त्यका लागि पनि जुट्न आग्रह गर्दै नेविसंघले ध्यानाकर्षण पत्रमा भनेको छ, 'पार्टीलाई नविन ढंगले सुदृढ गर्न विशेष परिस्थितिमा आयोजित भेलाबाट संगठनको प्राण नै अधिवेशन भएकाले अध्यक्ष महर पद लोलुप्ता भई महाअधिवेशन विमुख भएकाले ७७ वटै जिल्ला अधिवेशन उन्मुख वातावरण बनाउन सहयोगी भूमिका खेल्न माग गर्दछौं ।'
विद्यार्थी नेताहरुले बाँकी रहेको ४८ दिनभित्रै देशभर संगठनबीच हार्दिकताको वातावरण बनाउँदै सबै तहका अधिवेशन सकी १२ औं महाधिवेशन सम्पन्न गर्ने भूमिकामा जुट्ने वातावरण बनाउन सभापति देउवा तथा सम्पूर्ण जिल्ला सभापतिहरुसँग आग्रह गरेका छन् ।
मंगलबारदेखि शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेला बिहीबार सम्पन्न हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४