काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। गौतमका छोरा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुन पठाइएको पत्र सार्वजनिक गर्दै सहभागी हुन बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन्।
२०७७ पुस ५ मा प्रतिनिधिसभाको विघटन भएपछि तत्कालीन नेकपा दुई खेमा विभाजन भएको थियो। त्यहाँदेखि नै नेता गौतमले एकता अभियान थालेका थिए। पछि एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा फर्किएपछि पनि उनले पार्टी एकताका लागि पहल जारी राखेका थिए।
उनले संस्थापन पक्षले बनाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा भने भाग लिएका थिएनन्। आज बोलाइएको केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी हुन पुगेका हुन्।
