बागलुङ- मानव-वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ।
डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका–७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती सुरु गरिएको हो।
फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ। कार्यालयका वन अधिकृत प्रकाश थापाका अनुसार यो वर्ष जिल्लाका दुई स्थानमा मात्र वनजन्य फलफूल रोपणको नमुना कार्यक्रम सञ्चालन गरिएको हो।
‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु हो’, उनले भने, ‘फलफूल लगाउँदा बाँदरलगायत साकाहारी जन्तु, चराचुरुङ्गीले वनमै आहारा पाउँछन्, जसले गर्दा उनीहरु मानव बस्तीतिर आउनबाट रोकिन्छन्।’
ग्रामीण भेगका वस्तीमा नजिकका वनबाट बाँदर छिरेर बर्सेनि खेतीबालीमा नोक्सान पुर्याउँदै आएका छन्। हैसियत बिग्रिएका वनको अवस्था सुधार्न पनि फलफूल खेतीले सघाउने अधिकृत थापाको भनाइ छ।
लाम्दारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम थापाले १२ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल लगाइएको बताए।
लप्सी, अमला, हर्रो, बर्रो, अम्बा, केरा, एभोकाडो, टिमुरलगायत गरी पाँच हजार फलफूलका बिरुवा रोपिएको उनको भनाइ छ। सबैभन्दा बढी लप्सीका एक हजार ४०० बिरुवा रोपिएको छ। समितिका सदस्य र उपभोक्ता मिलेर फलफूल रोपेका थिए।