काठमाडौं- नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र नेता प्रकाशमानसिंहले महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ।
नेता प्रकाशमान सिंहले आजका लागि गर्ने भनिएको आफूहरूको छलफल स्थगित गरिएको जानकारी दिएका छन्।
‘क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु,’उनले भनेका छन्।
चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको थियो। सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो।
‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक नै हो,’उनले भनेका छन्,‘यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र मबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेका छन्।’
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिँदै जाने उनले उल्लेख गरेका छन्।