काठमाडौं- नेकपा एमालेले पार्टीभित्रका असन्तुष्ट पक्षका नेताहरूलाई २०७५ जेठ २ गतेकै पदीय हैसियतमा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पत्राचार गरेको छ।
नेकपा एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूलाई एकीकरण पूर्वको अवस्थामा जे हैसियत थियो त्यसै अनुसार पत्राचार गरिएको जानकारी दिए।
‘पार्टीको जेठ २ मा ज जसको जे पद छ त्यो पदीय हैसियत तोकेर नै पार्टीको केन्द्रीय कमिटीको बैठक निमन्त्रणा गरिएको छ,’ उनले भने,‘वरिष्ठ नेता, उपाध्यक्ष, सचिव लगायत ज जसको जे जिम्मेवारी थियो त्यही तोकेर पत्र पठाएका छौं।’
तर, असन्तुष्ट पक्षले भने त्यसरी पदीय हैसियत नतोकिएको दाबी गरेको छ। ‘उहाँहरुले अध्यक्षको निर्देशन अनुसार भनेर पार्टी कार्यालय सचिवको हस्ताक्षरमा पत्र पठाउनु भएको छ,’एक नेताले भने,‘कमरेड माधव नेपाल, कमरेड भीम रावल भन्ने हिसाबले पत्र काटिएको छ।’
उनले महाधिवेशन आयोजक कमिटीलाई नै जेठ २ मा फर्किएको भनेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बैठक बोलाइएको भन्दै त्यो आफूहरुलाई मान्य नभएको र आज बोलाइएको बैठकमा सहभागी नहुने बताए।