काठमाडौं- सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको हो।
सचिवमा बढुवा हुनेमा डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य रहेका छन्। डा. दामोदर रेग्मी र पाण्डे प्रशासनतर्फ तथा आचार्य र बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन्।
रेग्मीलाई ज्येष्ठताको आधारमा बढुवा गरिएको हो। ज्येष्ठताको आधारमा बढुवा हुने लाइनमा उनी एक्ला थिए। सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फबाट बढुवा गर्न पाण्डेसँगै मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेकोमा मन्त्रिपरिषद बैठकले पाण्डेलाई चुनेको हो।
सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद बैठकले सिफारिस सूचीको एक नम्बरमा रहेका आचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ।
बढुवा समितिले इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसँगै सहसचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले सहसचिव बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ।