काठमाडौं- अविरल वर्षासँगै आएको पहिरोले चितवनमा चेपाङ परिवारका चार घर बगाएको छ। पहिरोमा पुरिएर तीन घरमा बसोवास गर्ने सबै बेपत्ता भएका छन्।
राप्ती नगरपालिका–१२ वाक्राङका तीन घर र कालिका नगरपालिका–१० सिद्धिको एक घर पहिरोले बगाएको हो। पहिरोले वाक्राङका तीन घरमा बसोबास गर्ने सबै बेपत्ता भएको प्रहरीले जनाएको छ। तीनवटै घरका कोही सदस्य पनि फेला नपरेको स्थानीय सन्दीप चेपाङले जानकारी दिए।
वाक्राङका तीन घरमा कति जना सदस्य थिए भनेर कुनै विवरण नआएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसोबाट खोजी कार्य सुरु भएको जिल्ल प्रहरी कार्यालय चितवनले बताएको छ। बिहीबार बिहान पहिरोले घर पुरेको थियो।
दुर्गम र विकट रहेका कारण त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना नरहेको र आफूहरुले थप विवरण थाहा पाउन पनि नसकेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्। त्यहाँसम्म सवारी साधन पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाएर थप बुझ्ने प्रयासमा रहेको उनले बताइन्।
त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थित छेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ। घर बगाउँदा ४ वर्षीय बालक घाइते भएका र घरका अन्य सदस्य भाग्न सफल भएका थिए।