काठमाडौं- नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।
अध्यक्ष ओलीले दशौं महाधिवेशन कमिटी भंग गरी नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताएर भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन्।
बिहीबार बसेको नेपाल–खनाल समूहको बैठकले केन्द्रीय कमिटी बैठकका रुपमा ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘ओलीले बोलाएको बैठक अवैध छ, सहमतिअनुसार बोलाइएको पनि हैन, त्यसैले हामीले त्यो बैठकमा नजाने निर्णय गरेका छौँ।’
ज्ञवालीले अवैध कमिटीले बैठकको आयोजना गरेकाले त्यसमा सहभागी हुने कुरै नरहेको स्पष्ट पारे। उनले थपे, ‘बैठक आयोजक चाँहि अवैधानिक कमिटी हो, हामीसँग सहमति नगरीकन बैठकको आह्वान गरेको छ र अवैधानिक कमिटीले आह्वान गरेको छ, त्यसैकारण हामी सहभागी हुने कुरै छैन।’
ज्ञवालीले नेपाल–खनाल समूहको बैठकले पार्टी एकताका लागि औपचारिक वार्ता गर्नुपर्ने निर्णय गरेको बताए। उनले भने, ‘आगामी दिनमा अगाडि बढ्न औपचारिक वार्ता हुनुपर्यो, अहिलेसम्म औपचारिक वार्ता भएको छैन, अब औपचारिक वार्ता गरेर त्यसबाट सहमति कायम गर्नुपर्छ।’ उनले नवौं महाधिवेशनले तय गरेको नीति, विधि र सिद्धानतका आधारमा पार्टी सञ्चालन हुनुपर्ने र औपचारिक वार्तामार्फत् सहमति गरी आगामी बैठक सहमतिको आधारमा बोलाउनु पर्ने निर्णय गरिएको जानकारी दिए।
नेपालसमयसँगको कुराकानीमा उनले आफूहरुले एकता प्रक्रियालाई अगाडि बढाउन चाहिरहेको भन्दै ओलीले यसअघि गरेको महाधिवेशन आयोजक कमिटीको गठन र त्यो कमिटीले बोलाएको बैठक नै अवैध भएको टिप्पणी गरे। उनले ओलीले पार्टी एकता र सहमति गर्न नचाहेको पनि बताए।