काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई बिहीबार विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारीदेखी निजी सवारी साधनका चालकसमेत छन्। हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा वृद्धि भएको छ। वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारीसाधनबाट ठगिन सक्ने हुनाले ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउँदै आएको छ।
‘जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगिन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी अपरेसन टोली परिचालन गरेका छौं। टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको छ,’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१०१००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षे पुण्य प्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका वर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ।
त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने वर्ष ४६ का राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका
२८ वर्षे संजय खड्कालाई समेत यात्रुसँग बढी भाडा लिँदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।
अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष ३९ को हरेन्द्र बुढाथोकी रहेका छन्। पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ।