जनकपुरधाम– निर्माण कार्यको अन्तिम चरणमा रहेको सिरहा–धनुषा जोड्ने कमला पुल भासिएको छ।
हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित गत असार १३ गते हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै भासिएको हो। पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए।
प्रजिअ कणेलका अनुसार बसपिट्टा घाटस्थित निर्माणाधिन पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको हो । उनले कमसल सामग्रीको प्रयोग वा गलत डिजाइन गरी निर्माण कार्य गरिएकोले भासिएको हुन सक्ने बताए।
२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने ठेक्का पाएका पप्पु कन्सट्रक्सन र ज्यान जेभीबाट काम सुरु भएको थियो। बीचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो।
‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भासिनुले काम गुणस्तरहीन भएको हुन सक्ने अनुमान गरिएको छ,’ प्रजिअ कणेलले भने, ‘पुल निर्माणको ठेक्का पाएको लुम्बिनी बिल्डर्सलाई उल्लेख गर्दै गुणस्तरहीन काम भएको हुनुपर्ने भन्दै गृह मन्त्रालयमार्फत भौतिक पूर्वाधार मन्त्रालयलाई परिपत्र गरिसकेका छौँ।’