काठमाडौं- जबजब कांग्रेस महाधिवेशन नजिकिँदै जान्छ, तब नेताहरुले एकअर्कालाई आकर्षक पद प्रस्ताव गर्छन्। खासगरी सभापति पदका अकांक्षीले एकअर्कालाई प्रधानमन्त्री पदको प्रस्ताव गर्दै आएका छन्। संसद्मा पार्टीको उपस्थिति जस्तोसुकै होस्, नेताहरु आफू सभापति बन्न अर्कालाई प्रधानमन्त्रीको लोभ देखाउन छाड्दैनन्।
आफ्नो नाममा सहमति जुटाउने प्रयासस्वरुप उनीहरुले भावी प्रधानमन्त्री बन्ने प्रस्ताव अन्य आकांक्षीसँग राख्ने गरेका छन्।
त्यसो त प्रधानमन्त्री बनेर देश हाँक्ने इच्छा नहुने राजनीतिज्ञ को होला र? पार्टीमा बलियो सभापति हुने र संसदीय दलमा निर्वाचित भएर सत्ताको नेतृत्वमा पुग्ने इच्छा हरेक नेतामा देखिन्छ। तर पनि उनीहरु एकअर्कालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न पछि हट्दैनन्।
कांग्रेस महाधिवेशन ताका भने प्रधानमन्त्री पद यति सस्तो भइदिन्छ, जसले जसलाई पनि यो पद अफर गर्न सक्छ (खासगरी सभापतिका आकांक्षीले)। त्यसैले महाधिवेशन ताका कांग्रेसमा प्रधानमन्त्री पदका अगाडि सभापति पद महँगो पर्दै आएको छ।
नेपाली राजनीतिमा सहमतिको पालना हुने कुरा दुर्लभ नै मानिन्छ। यही कारण होला यस्ता अफर अफरमै सीमित रहने गरेका छन्।
कसले कसलाई गरे अफर?
१३औं महाधिवेशनमा सभापतिका आकांक्षीद्वय शेरबहादुर देउवा (हालका सभापति) र रामचन्द्र पौडेल (वरिष्ठ नेता) ले एकअर्कालाई प्रधानमन्त्रीको अफर गरेका थिए। २०७२ फागुन ६ गते दुई नेताले आफू सभापति बन्ने भन्दै एकअर्कालाई प्रधानमन्त्री पद प्रस्ताव गरे। ६ गते बिहान आफ्नो निवास बूढानीलकण्ठमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले पौडेललाई संसदीय दलको नेता र प्रधानमन्त्री बनेर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
पार्टी सत्ता राज्यसत्ता प्राप्त गर्ने प्रमुख आधार हो। त्यसैले महाधिवेशनका बेला कांग्रेसमा प्रधानमन्त्री ‘सस्तो’ र सभापति पद ‘महँगो’ भएको जस्तो देखिन गएको हो।
देउवाले प्रस्ताव गरेको केही घण्टा बित्न नपाउँदै पौडेलले अनामगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा पौडेलले देउवाको प्रस्ताव अस्वीकार मात्रै गरेनन्, उल्टै देउवालाई नै प्रधानमन्त्रीको अफर गरिदिए।
पौडेलले आफू लोभलालचमा नफस्ने भन्दै बरु देउवालाई नै प्रधानमन्त्री र राष्ट्रपति बन्न आग्रह गरेका थिए। ‘म कुनै लोभ लालचमा फस्दिनँ, देउवाजी आफैं बन्नु भए हुन्छ,’ उनले भनेका थिए, ‘म पार्टीमा काम गर्छु, प्रधानमन्त्री देउवाजी नै बन्नुहोस्।’
एकैदिन दुई नेताले एकअर्कालाई प्रधानमन्त्रीको प्रस्ताव गरे, दुवैले प्रस्ताव अस्वीकार गरे अनि महाधिवेशनमा सभापति प्रतिस्पर्धा गरे। १३ औं महाधिवेशनमा पौडेल देउवासँग करिब ६ सय मतले पराजित बनेका थिए।
१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि नेताहरुले एकअर्कालाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन्। १३ औं महाधिवेशनमा देउवा र पौडेलले सभापति पदका लागि एकअर्कालाई प्रधानमन्त्री प्रस्ताव गरेकामा यस पटक भने कांग्रेसमा प्रधानमन्त्री पद ‘फालाफाल’ झैं बनेको छ। यद्यपि विघटित संसद् पुनःस्थापना भएमा कांग्रेसका देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना छ। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
कांग्रेस सभापतिको आकांक्षीमा यसपटक १० जनाभन्दा धेरै नेता छन्। सभापति देउवाले आफू निकटसँग पुनः दोहोरिने घोषणा गरिसकेका छन्। वरिष्ठ नेता पौडेल अन्तिम अवसर भन्दै सभापति लड्ने तयारीमा छन्। यस्तै उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, सुजता कोइराला, कल्याण गुरुङ सभापतिका आकांक्षी छन्। यीमध्ये केहीले एकअर्कालाई प्रधानमन्त्री बनेर आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन्।
पौडेलले घुमाउरो भाषा प्रयोग गरी देउवालाई सभापति छोडिदिन आग्रह गरेका छन्। तर, देउवाले सहयोग गर्नेमा भने उनी विश्वस्त देखिँदैनन्।
असार ५ गते सभापति देउवाले दोस्रो कार्यकाल सभापति बन्ने तयारीस्वरुप २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई निवासमा बोलाए। देउवाले आफू पुनः सभापतिमा लड्ने निर्णय सुनाउँदै सहयोग गर्न आग्रह गरेका थिए। तर, उपसभापति निधिले देउवाको आग्रह अस्वीकार मात्रै गरेनन्, सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरे। उनले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए।
‘मैले लामो समयदेखि तपाईंलाई सहयोग गरेको छु। यसपटक तपाईं प्रधानमन्त्री बन्नुस्, मलाई सभापतिमा प्रस्ताव गर्नुस्’, निधिले भनेका थिए।
तर, देउवाले सभापति उठ्न जो पनि पाउने बताएका थिए। उनले भनेका थिए, ‘सभापति उठ्ने हो भने उठ्नुस्। जो पनि उठ्न पाउँछ नि, मैले पनि अब एक कार्यकालका लागि तयारी गरिसकेँ। म उठ्ने हो।’
गत सोमबार सभापतिका अर्का आकांक्षी डा. शेखर कोइरालाले वरिष्ठ नेता पौडेललाई भेटेर प्रधानमन्त्रीको अफर गरे। उनले पौडेललाई प्रधानमन्त्री बनेर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
‘म दोहोर्याएर सभापति पनि हुन्नँ, प्रधानमन्त्री पनि हुन्नँ । तपाईंसँग लामो शासकीय अनुभव छ । प्रधानमन्त्री हुनुहोस् र सभापतिमा मलाई सहयोग गर्नुहोस्,’ कोइरालाले भनेका थिए।
कोइरालाको प्रस्तावमा मौन रहेका पौडेलले पनि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। ‘मलाई सभापति बनेर पार्टी हाँक्ने ठूलो रहर छ। सहयोग गर्नुपर्यो। यो मेरा लागि अन्तिम अवसर हो,’ पौडेलले कोइरालासँग भनेका थिए, ‘मेरो लामो राजनीतिक अनुभवका आधारमा पार्टी चलाउने मन छ। साथीहरुले मेरो योगदान, त्याग र निष्ठाको मूल्यांकन गर्नुपर्यो। त्यसैले एकपटक मलाई सहयोग गर्नुस्।’
नेतात्रय उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह निरन्तर छलफलमा छन्। उनीहरु तीनै जना सभापतिका आकांक्षी हुन्। महाधिवेशनमा एकै ठाउँमा उभिने सार्वजनिक अभिव्यक्ति दिइसकेका उनीहरुबीच ‘गिभ एन्ड टेक’ का विषयमा छलफल भइरहेको बुझ्न गाह्रो छैन।
सोही दिन साँझ पूर्वमहामन्त्री सिंहले पौडेललाई भेटे। सिंहले पनि कोइरालाले जस्तै प्रस्ताव पौडेलसमक्ष राखेका छन्। सभापतिको दाबीबाट ब्याक नहुने बताउँदै आएका सिंहले पौडेललाई निर्वाचनपछि प्रधानमन्त्री बन्न तयार रहन आग्रह गर्दै आफूलाई सघाउन आग्रह गरेका थिए।
हालै एक अनलाइनलाई दिएको अन्तर्वार्तामा वरिष्ठ नेता पौडेलले घुमाउरो भाषामा सभापति देउवालाई प्रधानमन्त्री बनेर आफूलाई सभापति छोड्न आग्रह गरेका छन्। अघिल्लो महाधिवेशन देउवा र पौडेलले एकअर्कालाई प्रधानमन्त्रीको अफर गरेका थिए। यसपटक देउवा सभापतिका अन्य आकांक्षीका सन्दर्भमा मौन छन्। तर, पौडेलले घुमाउरो भाषा प्रयोग गरी देउवालाई सभापति छोडिदिन आग्रह गरेका छन्। तर, देउवाले सहयोग गर्नेमा भने उनी विश्वस्त देखिँदैनन्। ‘अहिले उहाँलाई प्रधानमन्त्रीमा अगाडि सारेकै छ। यता (सभापति) छोडिदिए पनि भयो नि त उहाँले। उहाँ त दुईटै पद मलाई चाहिन्छ भन्नुहुन्छ भोलि पनि,’ उनले भनेका छन्।
नेतात्रय उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह निरन्तर छलफलमा छन्। उनीहरु तीनै जना सभापतिका आकांक्षी हुन्। महाधिवेशनमा एकै ठाउँमा उभिने सार्वजनिक अभिव्यक्ति दिइसकेका उनीहरुबीच ‘गिभ एन्ड टेक’का विषयमा छलफल भइरहेको बुझ्न गाह्रो छैन।
त्यो भनेको पार्टी सभापति, प्रधानमन्त्री वा अन्य कुनै पदमा कसरी सहमति गर्न सकिन्छ भन्नेमा उनीहरुको छलफल केन्द्रित छ। तर, अहिल्यै उनीहरु सहमतिमा पुगिसकेका छैनन्। सहमति खोज्ने प्रयास उनीहरुबीच भइरहेको छ। मंगलबार यसलाई प्रस्टयाउँदै सिंहले भनेका छन्, ‘काँचो फल मिठो हुँदैन, हामी पकाउने प्रयासमा छौं।’ उनीहरुबीच कसरी सहमति हुन्छ? त्यो भने समयक्रमसँगै थाहा हुनेछ।
तर, अफर स्वीकार्ने कोही छैनन्
पार्टी सभापतिका आकांक्षीहरु प्रधानमन्त्री पदको अफर गर्छन्, तर सभापतिको आफ्नो दाबी छोड्न तयार कोही देखिँदैनन्। आफ्नो दाबी कायमै राखेर गरिएको प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्न कोही तयार देखिँदैनन्। किनभने कांग्रेस सभापतिको दाबी गर्ने व्यक्तिले नबुझ्ने कुरै भएन– पार्टी सत्ता राज्यसत्ता प्राप्त गर्ने प्रमुख आधार हो। त्यसैले महाधिवेशनका बेला कांग्रेसमा प्रधानमन्त्री ‘सस्तो’ र सभापति पद ‘महँगो’ भएको जस्तो देखिन गएको हो।
राजनीतिक विश्लेषक डा. विष्णु दाहालको बुझाइमा एकअर्कालाई प्रधानमन्त्रीको गुलियो प्रस्ताव अघि सार्नुको अन्तर्य भुलभुलैयाको रणनीति हो। ‘कुन समयमा कुन कन्टेन्टलाई कुन कन्टेक्समा राखेर हेर्ने भन्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले प्रधानमन्त्री पद कांग्रेसको बसको कुरा होइन। यो केवल समीकरणमा फेरबदल गर्न सकिन्छ कि भनेर कार्ड खेल्ने रणनीति मात्रै हो।’
नेपालको दलीय राजनीतिमा पार्टीको नेतृत्वमा जो पुग्यो ऊ नै शक्तिशाली हुने गर्छ। चाहे त्यो पार्टी सञ्चालनको सवालमा होस् वा सत्ताप्राप्तिका लागि नै किन नहोस्। त्यसैले पनि पार्टी नेतृत्व हत्याउन आकांक्षीहरुका यस्ता प्रस्ताव सामान्य नै भएको दाहालको टिप्पणी छ।
‘यदि अहिले संसद्मा कांग्रेसको बलियो हुन्थ्यो भने धेरैले म प्रधानमन्त्री बन्छु, तपाईं सभापति हुनुस् भन्ने प्रस्ताव गर्थे होलान्। तर, अहिले पार्टी कमजोर छ। यस्तो बेलामा अर्कोलाई प्रधानमन्त्रीको प्रस्तावमा आश्वस्त पारेर पार्टी नेतृत्वमा पुगिहालौं भन्ने लाग्नु अनौठो होइन,’ उनी भन्छन्, ‘निर्वाचनपछिको कुरा गर्दा दलीय राजनीतिमा पार्टीको नेतृत्व गर्नेले टिकट बाँड्ने हो। राज्य सत्ता प्राप्तिको आधार पार्टीको सत्ता हो। त्यसैले पार्टी सत्ता कब्जा गर्न यस्ता प्रस्ताव गरिएको बुझ्न गाह्रो छैन।’