काठमाडाैं- एक साताअघि अभिनेत्री आँचल शर्मालाई टीभी कार्यक्रम ‘ग्ल्यामर गफ’मा प्रस्तोता प्रकाश सुवेदीले सोधे, ‘अहिलेको विषम परिस्थितिमा महानायक राजेश हमाल कि पल शाह?’ जवाफमा उनले सहजै भनिन्, ‘पल शाह।’ त्यसपछि सदाझैं प्रकाशले उक्त एपिसोड युट्युबमा राखे। शीर्षकमा लेखे, ‘रियल हिरो पल शाह नै हो, अनि महानायक?’ पललाई ‘महानायक’ भन्दा हमालका फ्यानले सामाजिक सञ्जालमा आँचललाई गाली गरिरहेका थिए।
यही क्रममा प्रस्तोता सुवेदीले ‘रजतपट कोसेली अभियान’ अन्तर्गत भन्दै मंगलबार अभिनेता पल शाहलाई साँच्चिकै ‘रियल हिरो’को उपाधि घोषणा गरिदिए। सात केजीको मालासहितको उक्त उपाधि पाएको तस्बिर यतिखेर सोसियल मिडियामा भाइरल भइरहेको छ। पलका प्रशंसकदेखि केही कलाकर्मीसम्म उनलाई बधाई र शुभकामना दिइरहेका छन्। अनि, पल मख्ख पर्दै भनिरहेका छन्, ‘अब ममा जिम्मेवारी थपियो।’
अब चार महिनाअघि फर्कौं। माघ २४ गते अभिनेत्री करिश्मा मानन्धरलाई ‘आर के इन्टरटेन्मेन्ट’ नामको एउटा संस्थाले ‘महानायिका’ को उपाधि दियो। त्यो पनि सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, अभिनेता राजेश हमाल, नीर शाहलगायतको उपस्थितिमा। त्यतिबेला ‘महानायक’ दाबी गरिएका हमालको हातबाट करिश्मालाई उक्त ताज पहिराइएको थियो। पछिल्लो समय फिल्म अभिनयमा लगभग निष्क्रिय करिश्मा पनि यो ताज पाउँदा खुसीले गद्गद थिइन्। उनले पनि आफैंलाई साँच्चै ठानिन्, ‘म महानायिका।’
अघिल्लो वर्ष लकडाउनकै बेला अभिनेत्री दीपाश्री निरौलाले टीभी प्रस्तोता प्रकाश सुवेदीको कार्यक्रममा हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाउँदा विवादमा तानिनुपरेको थियो। त्यतिबेला दीपाश्रीको टिप्पणीले ‘महानायक’ पदवीको बहसलाई सतहमा ल्याइदियो। कतिपयले हमाल ‘महानायक’का लागि योग्य नरहेको टिप्पणी गरे भने कतिपयले हमाल नै ‘महानायक’ दाबी गरेका थिए।
‘संसारका विकसित फिल्म उद्योगमा यस्तो चलन हुँदैन,’ फिल्म चिन्तक नवीन सुब्बा भन्छन्, ‘चाहे जापानको उद्योगको कुरा गरौं, हलिउडको या युरोपको। तर, दक्षिण एसियामा यो प्रवृत्ति बढी छ। यो शक्ति पुजकहरुको समाज भयो। त्यसकै प्रतिबिम्ब फिल्म क्षेत्रमा देखिएको हो।’
एउटा ‘पदवी’माथि प्रश्न उठिरहेका बेला जसरी करिश्मा र पलले अर्को ‘पदवी’ थापे, त्यसले देखाउँछ, नेपाली कलाकारमाझ बढिरहेको ‘उपाधि मोह।’ यो मोहलाई फिल्म चिन्तक नवीन सुब्बा कलाकारको अज्ञानता र छोटो बुद्धिको उपज ठान्छन्। ‘संसारका विकसित फिल्म उद्योगमा यस्तो चलन हुँदैन,’ उनी भन्छन्, ‘चाहे जापानको उद्योगको कुरा गरौं, हलिउडको या युरोपको। तर, दक्षिण एसियामा यो प्रवृत्ति बढी छ। यो शक्ति पुजकहरुको समाज भयो। त्यसकै प्रतिबिम्ब फिल्म क्षेत्रमा देखिएको हो।’
यो उपाधि या पदवीको प्रवृत्तिले समाजमा ‘हाइरार्की’ देखाउन र छुवाछुत जस्तो विभेद कायमै राख्न मद्दत पुग्ने सुब्बाको तर्क छ। ‘एउटा मान्छेलाई ठूलो, अर्कोलाई सानो मानेर जब समानताको व्यवहार गरिँदैन तबसम्म उचनिच रहने हो,’ उनी भन्छन्, ‘कलाकर्मीको काम भनेको मानवीयता सिर्जना गर्ने हो। मानवीयता सिर्जना गर्ने हो भने समाजलाई समान बनाउनुपर्छ। समाजलाई समान बनाउने हो भने श्रेष्ठ, विशिष्ट भन्ने जुन धारणा छ, त्योबाट मुक्त हुनुपर्छ। साँच्चै राम्रो कलाकार कोही हो भने र कसैले आफूलाई दाबी गर्छ भने त्यसले म श्रेष्ठ हुँ, म अरुभन्दा भिन्न छु, विशिष्ट छु भन्नु हुँदैन। भन्छ भने त्यो छुवाछुत गरेजस्तै हो। यसले समाजलाई उन्नत, सभ्य र विकसित गर्नलाई सहयोग गर्दैन, उल्टै भड्कालोमा लैजान्छ।’
‘उपाधि’ किन?
मंगलबार सात केजीको मालासहित पललाई ‘रियल हिरो’ ‘उपाधि दिँदै गर्दा जब प्रस्तोता प्रकाश सुवेदीलाई उपाधि दिनुको कारणबारे सोधियो, जवाफमा उनले भने, ‘यो विषम परिस्थितिमा उहाँले ज्यानको बाजी लगाएर के चाहिँ गर्नुभएन? त्यसको प्रतिफल हो। पर्दामा मात्रै होइन, वास्तवमै उहाँ हिरो लाग्यो, त्यसैले यो पदवी दियौं।’
महामारीका बेला दिलोज्यान लगाएर समाजसेवा गरिरहेका कारण उनलाई यो पदवी दिएको प्रकाशको ठम्याइ थियो। तर, पलले के साँच्चै त्यसरी नै समाजसेवा गरिरहेका छन् ? लकडाउनमा मात्रै करोडौँ आम्दानी गरेको बताउँदै आएका उनले आफ्नै खल्तीबाट खाद्यान्न वितरण गरिरहेका छन् त?
कहींकतै गरेका होलान्, तर धेरैजसो संघसंस्थाकै पहल देखिन्छ। जस्तो, उनी धेरैजसो ठाउँमा ‘हाम्रो टिम’ नामक संस्थाको राहत वितरण गर्न सेलिब्रेटी फेसका रुपमा उभिएका छन्। तर बाहिर खबर आउँदा उनैले खल्तीबाट रकम हालेर राहत वितरण गरे जसरी आइरहेको छ।
उदाहरणका लागि केही दिनअघि चलचित्र प्राविधिक संघले आयोजना गरेको राहत वितरण कार्यक्रमलाई लिन सकिन्छ। त्यतिबेला पल शाह र करिश्मा मानन्धरको उपस्थितिमा २ सय ५० जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको थियो। राहत वितरणपछि युट्युब तथा अनलाइनमा हेडलाइन नै आयो– ‘पल शाहले २५० जनालाई यति धेरै सहयोग गरे।’
तर, त्यो सत्य थिएन। खासमा त्यतिबेला ‘लप्पन छप्पन–२’ टिमले चिनियाँ फिल्म वितरक शान शर्मा, निर्देशक मुकुन्द भट्ट र प्रोडक्सन म्यानेजर युवराज कार्कीको पहलमा राहत वितरण गरेका थिए। तर, चर्चा पल र करिश्माको भइदिँदा उनीहरुकै मन खिन्न भएको थियो।
हामीकहाँ उपाधि दिनेहरुबीच पनि प्रतिस्पर्धा देखिन्छ। जस्तो, राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिमा ‘रजतपट’का प्रस्तोता प्रकाश सुवेदीदेखि आर के इन्टरटेन्मेन्टका संस्थापक अध्यक्ष राम केसीसम्म दाबी गर्दै आइरहेका छन्।
करिश्मालाई ‘महानायिका’ घोषणा गरिदिँदै गर्दा उनले संस्थाको नवौं वार्षिकोत्सवमा आफूहरुले हमाललाई ‘महानायक’ घोषणा गरेको दाबी गरेका थिए। अनि, करिश्मालाई महानायिकाचाहिँ तीन दशकदेखि फिल्म क्षेत्रमा टेवा पुर्याएका कारण दिएको बताएका थिए।
फिल्म निर्देशक मनोज पण्डित पदवी तथा उपाधिको व्यापार भइरहेको बताउँछन्। ‘यहाँ कलाकारको पदवी मोहलाई सन्तुष्ट गरेर आफ्नो स्वार्थ लाद्ने समूहको दबदबा छ,’ उनी भन्छन्, ‘यो समूहलाई सिनेमाको सिर्जनशीलतासँग कुनै सरोकार छैन, उनीहरुलाई कलाकारको नाम बेचेर स्थापित हुनतिर मात्रै ध्यान छ। त्यसैले यस्ता पदवी तथा उपाधिको बलमा उनीहरु फिल्म क्षेत्रमा आफ्नो शक्ति देखाउन अथवा हैकम जमाउन चाहन्छन्।’
जबजब उनीहरुलाई आफू कमजोर भएको अनुभूत हुन थाल्छ, त्यसपछि उनीहरु यस्ता पदवी बोकेर बजारमा आउने पण्डितको बुझाइ छ- चाहे त्यो फिल्म अवार्डका नाममा होस् या सम्मानका नाममा।
कलाकारको महानता उनीहरुको अभिनय अर्थात् सिर्जनासँग गएर जोडिनुपर्ने हो तर हामीकहाँ पदवी र उपाधिकै भरमा त्यसको मापन बढिरहेको छ। कसले कति फिल्म खेल्यो, कसले कति चामल बाँड्यो, उपाधि वितरकहरुका लागि त्यो नै खास मापदण्ड बनिरहेको छ।
कलाकारितामा 'अहम्'काे व्यापार मौलाइरहेको पण्डितको विश्लेषण छ। ‘कलाकारिताको सबैभन्दा बढी समस्या अहम् भयो, त्यही अहम् बढाउन तिकडम हुन थाल्यो,’ उनको तर्क छ, ‘त्यसैले उनीहरु समाजसेवा, पदवीतिर लाग्न थाले। उनीहरु आफ्नोबारे तत्कालीन समयमा म महान् थिएँ भन्ने भाष्य निर्माण गर्न चाहन्छन्।’
कलाकारको महानता उनीहरुको अभिनय अर्थात् सिर्जनासँग गएर जोडिनुपर्ने हो तर हामीकहाँ पदवी र उपाधिकै भरमा त्यसको मापन बढिरहेको छ। कसले कति फिल्म खेल्यो, कसले कति चामल बाँड्यो, उपाधि वितरकहरुका लागि त्यो नै खास मापदण्ड बनिरहेको छ।शिव श्रेष्ठ, राजेश हमालदेखि अनमोल केसी, पल शाहसम्म आइपुग्दा पनि यो प्रवृत्ति नहराएको बताउँछन्, पण्डित। यसलाई उनी एक किसिमको मनोरोग ठान्छन्।
‘कलाकारहरु पदवी भएन भने आफूलाई खल्लो ठानिरहेका छन्, आफू रित्तो भएको अनुभूत गरिरहेका छन्,’ पण्डित थप्छन्, ‘यसले उनीहरुको सिर्जनशीलतामा पनि असर गरिरहेको छ। खासमा यहाँ पदवी दिने र लिने बीच राम्रो साठगाँठ देखिन्छ। यसले उनीहरुको निहित व्यक्तिगत स्वार्थमा फाइला देला, उनीहरुको 'अहम्'लाई सहयोग पुग्ला तर चलचित्र क्षेत्रलाई केही फाइदा पुग्दैन। जब कलाकारहरु उपाधिको मोहमा फस्दै जान्छन्, त्यसपछि कलाकारिता मर्दै गयो भन्ने कुरा बुझे हुन्छ।’
संसारमा राम्रा कलाकारले पदवीलाई सधैं बहिष्कार गरेको बताउँदै पण्डित भन्छन्, ‘जो पदवीको लोभमा लागिपरेका छन्, वास्तवमा उनीहरु कमजोर कलाकार हुन्। सशक्त कलाकार त सधैं आफ्नो अभिनय, आफ्नो पात्रमार्फत दर्शकको मनमा रहिरहन्छ।’
यस्ता पदवी बोकेका कलाकारसँग आफूले कहिल्यै काम गर्न नचाहेको निर्देशक पण्डित बताउँछन्। ‘किनभने यस्तो कलाकारहरुको सबैभन्दा ठूलो बाधक नै उनीहरुको पदवी हुन्छ,’ उनी तर्क दिन्छन्, ‘आवरणमा उनीहरुले स्थापना गरेको कथ्य साँच्चै खतरनाक हुन्छ। यस्ता कथ्यदेखि म मुक्त हुने प्रयत्नमा छु। त्यसैले पदवी लिने कलाकार मेरो सिनेमामा आवश्यक पर्दैनन्।’