काठमाडौं– नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री आशन्न महाधिवेशनको तयारीका लागि छलफलमा जुटेका छन्।
कांग्रेसको १४औं महाधिवेशन नजिकिएका बेला सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल भइरहेको छ।
महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निरन्तर छलफल जारी रहेको स्रोतले जनाएको छ। उनीहरूबीच महाधिवेशनमा साझा धारणा बनाएर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ।
यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा बसेर छलफल गरेका थिए। महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने उनीहरूबीच सहमति थियो। आगामी दिनमा उनीहरू छलफलका लागि सिंह निवासमा समेत जुट्ने बताइएको छ।