काठमाडौं- प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा १ सय १९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली केहिबेर अघि चीन प्रस्थान गरेका हुन् ।
भ्रमणमा प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् . ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।
उनले भने, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।” द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए ।
भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने भएका छन् । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् ।
बुधबार राष्ट्रपतिसँग भेटवार्ता
प्रधानमन्त्री ओलीले चिनियाँ समयअनुसार बुधबार अपराह्न ४ बजे चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । नयाँ पत्रिकालाई प्राप्त कार्यक्रम तालिकाअनुसार राष्ट्रपति सीसँग उनको ४० मिनेट शिष्टाचार वार्ता हुनेछ ।
ग्रेट हल अफ द पिपुलको पूर्र्वी हलमा राष्ट्रपतिसँग भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग एकान्त वार्तासमेत गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४