काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पूर्वराजालाई गुहार्ने काम पूरा भएको आरोप लगाएका छन्। सम्पादकहरुसँगको अन्तरक्रियामा बिहीबार दाहालले अहिलेका राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठिक भन्ने मनसायको अभिव्यक्ति दिएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो आरोप लगाएका हुन्।
पोखरेलले भनेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ।’ दाहाललाई संकेत गर्दै एमाले नेता पोखरेलले लेखेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र?’
दाहालले राष्ट्रपतिको आलोचना गर्ने नाममा राजसंस्था र राजाको प्रशंसा गरेका थिए। ‘म नै राज्य हुँ भन्दै प्रधानमन्त्री हिँड्नुभएको छ। बाटा–बाटाबाट मन्त्री टिपेको छ। संवैधानिक निकाय त यति कमजोर छन् कि, त्यतिको कहिल्यै थिएनन्’, दाहालले भनेका थिए। उनले राष्ट्रपति कार्यालय बदनाम भएको र यसअघि राजा हुँदा सान थियो तर अहिले सान, मान, इज्जत केही नभएको टिप्पणी गरेका थिए।