काठमाडौं- राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरूले शुक्रबार सिंहदरबार घेराउ गर्ने भएका छन्। उनीहरूले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराउ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जनाएका छन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराएको भन्दै राजीनामा दिन वाध्य भएको बताए। उनले असार ११ बाट राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद गरेर माग पुरा गराउनका लागि आन्दोलनमा होमिएको बताए।
समितिले बिहीबार नै पत्रकार सम्मेलन गरेर आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिसकेको छ। आज राजीनामा दिने कार्यक्रम रहेको छ। ३२ जिल्ला अन्तर्गतका सम्पूर्ण प्राविधिकहरूको राजिनामा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा दिइने कार्यक्रम छ।
अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजिनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए।