धनगढी- कञ्चनपुरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का बजेट ल्याएका छन्।
सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा सबै स्थानीय तहले नयाँ आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता राखेर बजेट विनियोजन गरेका छन्।
साथै बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, लघु उद्यम, स्वरोजगार, पूर्वाधार विकासलाई समेत प्राथमिकता र निरन्तरता दिएका छन्।
भीमदत्त नगरपालिकाले एक अर्ब ५९ करोड रूपैयाँको बजेट ल्याएको छ। नगर उपप्रमुख सुशीला चन्दले कोरोना महामारी नियन्त्रण र रोकथाम, शिक्षा, कृषि, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याएको बताइन्।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको भारतीय सीमासँग जोडिएको पुनर्वास नगरपालिकाले ६९ करोड २९ लाख एक हजार रूपैयाँको अनुमानित बजेट ल्याएको छ। नगर उपप्रमुख शारदा बिष्टले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, पूर्वाधार विकास, उद्यमका योजना अघि सारेको बताइन्।
कृष्णपुर नगरपालिकाले ९२ करोड ५६ लाख ४२ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ। नगर उपप्रमुख रमिता रानाले स्वास्थ्य, शिक्षा, उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएर बजेट ल्याएको बताइन्।
बेलौरी नगरपालिकाले ८१ करोड ७० लाख रूपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। नगर प्रमुख पोतिलाल चौधरीले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सीमालगायत नगरको समृद्धि एकीकृत दिगो विकासका योजना अगाडि बढाएको बताए।
वेदकोट नगरपालिकाले ८३ करोड ९२ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। नगर प्रमुख अशोककुमार चन्दले अस्पताल निर्माण, कोल्ड स्टोर निर्माण, पर्यटन पूर्वाधार, बसपार्क निर्माण, फोहोरमैला व्यवस्थापन केन्द्र, अक्सिजन प्लान्टलगायतलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए।
शुक्लाफाँटा नगरपालिकाले ७१ करोड ४८ लाख तीन हजार रूपैयाँको बजेट ल्याएको छ। नगर प्रमुख दिलबहादुर ऐरले सामाजिक, आर्थिक, पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, विपत् पूर्वाधार विकास, प्राकृतिक प्रकोपमा परेका र जंगली जनावरबाट क्षति पुर्याइएका समुदायको लागि सम्वर्द्धन, उद्धार, संरक्षण र राहतलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए।
दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड १५ लाख १३ हजार रूपैयाँको बजेट ल्याएको छ।
लालझाडी गाँउपालिकाले ४७ करोड ५० लाख पाँच हजार बराबरको अनुमानित बजेट ल्याएको छ। अध्यक्ष मदनसेन बडायकले स्वास्थ्य शिक्षा, कृषि, तटबन्ध निर्माण, स्वरोजगारलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए।
बेलडाँडी गाउँपालिकाले ३८ करोड ९१ लाखको अनुमानित बजेट ल्याएको छ।