काठमाडौं– संवैधानिक अंगमा संविधानविपरीत पदाधिकारी नियुक्ति गरिएको भन्दै युवा नेताहरुले विरोध जनाएका छन्। संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुन र सबै नियुक्ति पाउनेहरूलाई नैतिकताका आधारमा पद अस्वीकार गर्न पनि उनीहरुले आग्रह गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा बिहीबार संवैधानिक अंगहरूमा २० पदाधिकारी नियुक्त गरेकी थिइन्। त्यसरी नियुक्त व्यक्तिहरूको संवैधानिक सुनुवाइ भएको छैन। युवा नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक निकायहरुमा भएको नियुक्तिको हामी घोर भत्सर्ना गर्दछौं। संवैधानिक निकायजस्तो राज्यको महत्त्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्वीकार्य हुन आवश्यक छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवं प्रतिगमन उन्मुख कदम एकपछि अर्को बढिरहेको तथा अदालतले त्यस्ता कदमलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको पनि जनाएका छन्।
विज्ञप्तिमा जारी गर्ने युवामा विश्वदीप लामिछाने, च्यवन घिमिरे, धीरज कोइराला, देवेन्द्र बर्मा छन्। यस्तै संयुक्त विज्ञप्तिमा शिव चालिसे, एलिजा ढकाल, ज्योति बोगटी थापा, रमिता अधिकारी, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, बुद्धराज रिसाल, हेमन्त बनले हस्ताक्षर गरेका छन्। विज्ञप्ति जारी गर्ने अन्यमा तारा गौतम, रमिला महत, राजन कटुवाल (केसी), राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइटेल, शिबु श्रेष्ठ, गोबिन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेश अधिकारी, अशु शर्मा, सरोज बस्नेत, बीपी कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारी छन्।