काठमाडौं- क्रियाशील दलित पत्रकार संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा विहिबार प्रदर्शन गरेको छ।
सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेदका आधारमा आफ्नो घरमा कोठा नदिएपछि पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाएर सरकारी गाडीको दुरुपयोग गरी मन्त्री श्रेष्ठले विभेदलाई संरक्षण गर्न खोजेको भन्दै क्रियाशील दलित पत्रकार संघले माइतीघरमा बिहीबार प्रदर्शन गरेको हो।
जातीय विभेद जस्तो विषयलाई राज्यले नै संरक्षण गर्न खोजेको क्रियाशील दलित पत्रकार संघको आरोप छ।
जातीय विभेद गरेर रिहा भएकी प्रधानलाई मन्त्रीले नै संरक्षण गर्नु समुदायमा सम्प्रदाय भड्काउनु भएको प्रदर्शनमा सहभागी नेपाल दलित संघका सचिव दीपक सोनीले बताएका छन्।
सञ्चारकर्मी महावीर विश्वकर्माले सरकारी पदको दुरुपयोग गरी विभेदलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाललाई तत्काल कारबाही गर्नुपर्ने बताए।
त्यस्तै, संघले हस्ताक्षर अभियान चलाएर सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको थियो।