जनकपुरधाम- आगामी निर्वाचनको तयारी स्वरुप नेकपा एमाले ओली समूहले माओवादीबाट आएकाहरुलाई समावेश गरेर प्रदेश २ को विभिन्न जिल्ला कमिटीको पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ।
नेकपा एमाले प्रदेश २ कमिटीले प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष र सचिव मनोनयन गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो। एमालेको ओली समूहको बिहीबार जनकपुरधाममा ज्वाला कुमारी साहको अध्यक्षतामा बसेको वैठकबाट प्रदेश २ को ५ वटा जिल्लामा अध्यक्ष र सचिव चयन गरेको जनाइएको छ।
प्रदेश अध्यक्ष ज्वाला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सप्तरी जिल्ला अध्यक्षमा ताराकान्त चौधरी र सचिवमा देवनाथ यादव, सिरहामा चन्देश्वर मण्डल र सचिवमा नवीन यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव राकेश र सचिवमा तेजनारायण यादव, महोत्तरी अध्यक्षमा टेकबहादुर बलम्पाकी र सचिवमा सौखिलाल यादव तथा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्तालाई मनोनयन गरिएको छ।