सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ५३५ रुपैयाँको बजेट ल्याएको छ।
उपप्रमुख मोहनमाया ढकालले बिहीबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्। जसमा चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगततर्फ ४३ करोड ३३ लाख ३६ हजार विनियोजन गरिएको छ।
नगरपालिकाले बजेट व्यक्तव्यमा आगामी आर्थिक वर्षमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै काँक्रेविहार जंगललाई चिडियाखानाका रुपमा विकास जनाएको छ। संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा काँक्रेविहार क्षेत्रलाई चिडियाखानाको बनाउने जनाएको हो। काँक्रेविहार जंगल क्षेत्र संरक्षित वन क्षेत्रमा पर्दछ।
नीति तथा कार्यक्रममा नगरपालिकालाई उप–महानगरपालिका बनाउनेसमेत उल्लेख छ। उपमहानगरपालिका बनाउनका लागि प्रदेश र संघ सरकारसँग आवश्यक समन्वय गरिने जनाइएको छ। हाल कर्णाली प्रदेशमा उपमहानगरपालिका छैनन्।
त्यस्तै एक वडा एक सामुदायिक बिउ बैंक स्थापना गर्ने, बसपार्क निर्माण गर्ने, सडक बालमुक्त नगर घोषण गर्ने, सौर्य उर्जा र वायोग्याँस विस्तार गर्ने, छोरीलाइ सेनेटरी, आमालाई सिप र रोजगारी, महिला स्वयमसविकालाई १२ हजार प्रोत्साहान भक्ता दिने, कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सहुलियत तथा प्रोत्साहान गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।