जनकपुरधाम– रौतहटको मौलापुर नगरपालिकाको नगरसभा चलिरहेका बेला नगरसभा बिथोल्न ढुंगामुढा भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेताकार्यकर्ताले नगरसभा बिथोल्ने प्रयास गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबीच झडप भएको हो।
झडपका क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन्। उनका अनुसार झडपमा परेर एक असईसहित पाँच नेपाल प्रहरी र तीन सशस्त्र प्रहरीका जवान घाइते भएका छन्।
दुई जना सर्वसाधारण घाइते रहेको बताइए पनि प्रहरी उपरीक्षक साहले भने पुष्टि गरेनन्। मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए। पूर्वमन्त्रीसमेत रहेका साह माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए। मौलापुर नगरपालिकाको नगरसभा तनावका बीच सम्पन्न भएको छ।