काठमाडौं– काठमाडौं महानगरपालिकाले करको बक्यौतामा लाग्ने जरिवानामा छुट दिने भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले कर बक्यौतामा लाग्ने जरिवानामा छुट दिने भएको हो।
आगामी आर्थिक वर्षका लागि करिब १९ अर्बको बजेट सार्वजनिक गरेको महानगरपालिकाले बिहीबार नै महानगरपालिका आर्थिक विधेयक २०७८मा करमा लाग्ने जरिवानामा छुट दिने घोषणा गरेको हो।
नगरसभामा नगर प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको काठमाडौं महानगरपालिका आर्थिक विधेयक २०७८ मा कोभिड–१९बाट प्रभावित करदाताहरुले तिर्न नसकेको आर्थिक वर्ष २०७६–०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने उल्लेख गरिएको छ।
यसअघि उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिका विनियोजन विधेयक २०७८ नगरसभामा प्रस्तुत गरेकी थिइन्।