काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९का लागि करिब १९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार महानगरपालिकाले नरगसभामा १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको हो।
महानगरपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतमामा राख्दै उक्त बजेट नगरसभामा प्रस्ताव गरेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट दिने प्रस्ताव गरेको छ। त्यस्तै विभिन्न किसिमका कर छुट सम्बन्धमा पनि सभामा प्रस्ताव गरेको छ।
घर बहाल करमा दश प्रतिशत वा २५ हजार रुपैयाँसम्म छुटको प्रस्ताव गरिएको छ। कोभिड–१९ बाट प्रभावित व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने महानगरपालिकाले बजेट वक्तव्यमा उल्लेख गरेको छ।
महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले बिहीबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड विनियोजन गरिएको छ। त्यस्तै पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको महानगरपालिकाले जानकारी दिएको छ।
प्रस्तावित बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन र महानगरवासीको विकासप्रतिको उत्कट चाहना सम्बोधन गरिएको महानगर उपप्रमुख खड्गीले दावी गरिन्। उनले विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताइन्।
आर्थिक वर्ष २०७८–७९ को बजेट तथा कार्यक्रममा संघ, प्रदेशले लिएका उद्देश्यहरूसमेत परिपूर्ति गर्न स्थानीय स्रोतसाधनको अधिकतम परिचालन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सघाउ पुर्याउने उदेश्य लिएको खड्गीको भनाइ थियो।