काठमाडौं– दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले आज बिहीबार सार्वजनिक गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको बताए। हत्यामा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना संलग्न रहेको भन्दै प्रहरीले उनलाई सार्वजनिक गरेको छ।
असार ६ गते सुब्बाले तिमिल्सिनासँग खाने र बासको व्यवस्था आफूसँग नभएकोले सहयोग मागेको प्रहरीले जनाएको छ। ‘तिमिल्सिनाले खाने र बस्ने व्यवस्था आफूले काम गर्ने बसमा मिलाइदिन्छु भनी बसमा लगेर जबरजस्ति गरेको खुलेको छ। महिलाले प्रतिकार गर्दा तिमिल्सिनाले घाँटी च्यापेर हत्या गरेको देखिएको छ,’ एसएसपी खापुङले भने। हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेको प्रहरीले जनाएको छ।
घटनापछि अभियुक्त काठमाडौंमा लुकीछिपी बस्दै आएका थिए। प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। प्रहरीले सन्तोषीको शव अर्धनग्न अवस्थामा फेला पारेको थियो। घटनास्थलमा गरगहना र सामान छरपस्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिरस्थित जंगल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा सुब्बाको शव भेटिएको थियो। घटनापछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको थियो।
अभियुक्त बसको सहचालक रहेको बताइएको छ। उनको साथबाट प्रहरीले घटनाको बेला लगाएका कपडाहरू, मृतकको मोबाइल, मेमोरी कार्डलगायत बरामद गरेको छ।
मृतक र अभियुक्तबीच पुरानो चिनजान भएको नदेखिएको प्रहरीले जनाएको छ। असार ६ गते होटलमा खाजा खाने क्रममा उनीहरूको सामान्य चिनजान भएको प्रहरीको भनाइ छ। महिलाले त्यही क्रममा आफूलाई खान–बस्नको समस्या भएको बताएपछि तिमिल्सिनाले बसमै त्यसको व्यवस्था गरिदिने आश्वासन दिएर लगेको अनुसन्धानबाट खुलेको छ।